काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रूपैयाँ आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख रूपैयाँ आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले बताइन् । यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन् । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ । अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उनले बताइन् । पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न आउने गरेका छन् । ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले बताइन् ।