काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यसअघि सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष पठाएका थिए । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागु हुने भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सरकारलाई सम्झाएको उनको भनाइ थियो । आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोक्न पनि उनले सरकारलाई सचेत गराएका छन् । अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको जिकिर गरेका छन् । दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष दाहालले संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि टिप्पणी गरेका छन् । उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने जिकीर गरेका छन् । यसैबीच नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ । नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै बन्ने दाहालको अभिव्यक्तिप्रति एमालेको सचिवालय बैठकले आपत्ति जनाएको हो । विश्वका विभिन्न घटनालाई नेपालसँग जोडेर आवेगपूणर् अभिव्यक्ति नदिन एमालेले माओवादीलाई ध्यानाकर्षण समेत गराएको छ । अध्यक्ष दाहालले संसदमा नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्नसक्ने चेतावनी दिएका थिए । पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरू खासगरी सत्ताबाट बाहिरिका माओवादीले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर दिएको आवेगपूणर् टिप्पणी र प्रतिक्रिया गैरजिम्मेवार रहेको बताएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्ता आवेगपूणर् अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निणर्य भएको बताएका छन् । उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताएका छन् ।