काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् । प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको उनको भनाइ थियो । उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरेका छन् । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरु, महिला उद्यमी महासंध नेपालकी अध्यक्ष शोभा ज्ञवाली, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकमा उनले श्रीलंका र बंगलादेश हुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले नेपाल पनि श्रीलंका र बंगलादेश बन्ने अभिव्यक्ति दिँदै आएका छन् । माओवादीको जारी परामर्श बैठकमा प्रचण्डले कांग्रेस-एमाले गठबन्धनप्रति शंका व्यक्त गर्दै उक्त अभिव्यक्ति दिइरहेका छन् । बैठकमा ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निणर्ायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमको भनाइ छ । वार्षिक कार्ययोजनामा पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कन लगायत समावेश छन् । त्यस्तै सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन् । त्यस्दै कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताएका छन् । त्यसैगरी राष्ट्रियसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरिएको छ । शून्य समयमा बोल्नुहुँदै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।