काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन् । एक्काइशौँ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गरेका छन् । राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देशन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताएका छन् । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरुको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूणर् विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाएका छन् । यसैबीच प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताएका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्वपूणर् हुने बताएका छन् । ललितपुरको खोकनामा आयोजित मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्वपूणर् हुने बताएका छन् । नेवाःलगायत सबै समुदायको योगदानकै कारण संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेको र अहिले कार्यान्वयनको चरणमा रहेको उनले बताएका छन् । प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जिकिर गरेका छन् ।