काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् । उनले अदालतको फैसलाले महानगर र सरकारले गर्नुपर्ने केही राम्रा कुरा आएको बताएका छन् । मुख्यसचिव अर्यालले अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था पनि रहेको भन्दै पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला सम्बन्धमा सरकारको धारणा पेश गर्ने काम गरिरहेको बताएका छन् । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् । उनले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरेका छन् । सभापती देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरेका छन् । त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको ४५ औं पुण्य तिथीमा म्याप मेमोरियल सोसाइटीले भक्तपुरमा आयोजना गरेको के नेपालको आकाश सुरक्षित छ ? विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले यस्तो उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् । नेपालको हवाई दुर्घटनापछिको प्रतिवेदनहरुलाई एकीकृत गरि अध्ययन गर्ने र नागरिक उड्डयन क्षेत्रलाई विश्वसनीय बनाउनका लागि उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको उनले बताएका छन् । मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्यनको क्षेत्रमा समस्या आएको गुनासा आएकाले दुई निकायलाई छुट्टाछुट्टै गर्ने गरि विधेयक तयार भएको र आगामी मन्त्रिपरिषदबाट अघि बढ्ने जानकारी दिएका छन् । हवाई क्षेत्रका बीमा लगायतका विभिन्न ऐनहरूलाई पनि समयानुकूल अघि बढाइने उनले बताएका छन् । मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन समितिले छानविन गरिरहेको र सरकारले कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन् ।