काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१-०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरेका छन् । उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताएका छन् । उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पारेका छन् । उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । कांग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन् । उनले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताएका छन् । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनको कालिमाटीस्थित गोदामको निरीक्षण गर्दै मन्त्री भण्डारीले नयाँ योजनाका साथ अन्तरमन्त्रालय समन्वय गरी चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताएका हुन् । उनले वर्षमा चार हजार पटक अनुगमन हुँदा पनि पूणर्रुपमा सन्तोष गर्ने ठाँउ नरहेकाले अनुगमनलाई फरक ढंगले अघि बढाइने धारणा राखेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउने गरी अघि बढ्ने उनले बताएका छन् । मन्त्री भण्डारी ६२ औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन कालिमाटीस्थित कर्पोरेसनको कार्यालय पुगेका थिए । उनले चाडपर्वका लागि सुपथ मूल्य पसल स्थापनाको तयारी भइरहेको र कुनै पनि उपभोग्य वस्तुको अभाव हुन नदिने धारणा राखेका छन् ।