काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूणर् समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेन्डामा गर्नुपर्ने बताएका छन् । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पुँजीपति, नोकरशाह र माफियाहरूलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताएका छन् । तर, इमान्दरिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरू त्यसका लागि तयार हुने पनि उनले स्पष्ट पारेका छन् । प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूणर् समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उनले बताएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस-एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङको बेंसीसहर नगरपालिका-७ मा एमाले लमजुङको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले यसअघिको सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएको बताएका छन् । साथै, उनले वर्तमान सरकार मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्ने जिकिर गरेका छन् । सञ्चारमन्त्री गुरुङले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने पनि दाबी गरेका छन् । संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारेका छन् ।