काठमाडौं । रूपन्देही, बुटवल उपमहानगरपालिका-९ मिलनचोक बस्ने तिलकराम खरेलकी छोरी ४ वर्षीया बिपिसा खरेलको सोही नगरपालिका-११ तिनकुनेस्थित छत्तिस कुलो नहरले बगाएर दिउँसो मृत्यु भएको छ । नहरले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट देवीनगरबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-३ माटेस्थित मेवाखोलामा जमेको पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-२ माईकु बस्ने २१ वर्षीय लाक्पा शेर्पाको दिउँसो मृत्यु भएको छ । तनहुँ, म्याग्दे गाउँपालिका-२ जामुने बस्ने १४ वर्षीय सुसान विकको सोही ठाउँस्थित सम्दी खोलामा डुबेर साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।