काठमाडांैं । नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम दश जनालाई मनोनयन गरेका हुन् । उक्त विभागको प्रमुखमा गंगालक्ष्मी अवाल छन् । सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन् । यसैबीच गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै गृहमन्त्री लेखकले तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रीपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । सोही अनुरुप गृह मन्त्रालयमा प्राप्त निर्देशनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका हुन् । उक्त प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताइएको छ । सूर्यदर्शनका सहकारी पीडितहरूले कास्की प्रहरीमा २०८० माघ २२ गते रविविरुद्ध जाहेरी दिएका थिए । कास्की प्रहरीले त्यसलाई लामिछाने गृहमन्त्री भएपछि तामेलीमा राखेको थियो । प्रहरी प्रवक्ता डिआइजी दान बहादुर कार्कीले लामिछाने पक्राउका लागि प्रहरी परिचालन भए नभएको आफूलाई जानकारी नभएको तर पक्राउ गर्ने अधिकार स्थानीय प्रहरीलाई नै भएको बताइएको छ । त्यसैगरी भक्तपुर जिल्ला प्रहरी परिसर र साइबर ब्युरोको टोलीले दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई मध्यपूर थिमिस्थित निजी निवासबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहन मणि अधिकारीले प्रसाईलाई निजी निवासबाट पक्राउ गरेको थियो । केही समयअघि साइबर ब्युरोमा पुर्याइएका प्रसाईंलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । अदालत लैजाने क्रममा उनका समर्थकले अवरोध गरेका थिए । सोही क्रममा एक जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि अदालतले पक्राउ अनुमति दिएको हो । झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो ।