काठमाडौं । अवकासमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफूअनुकूल न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले विरोध जनाएको छ । बार परिसर रामशाहपथमा विरोध सभा गर्दै नेपाल बारले गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न पटक-पटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएको हो । न्यायाधीशहरूको वरियतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले ध्यानाकर्षण गराएको छ । त्यस्तै बारले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायीक संशोधन तत्काल खारेज गर्नुपर्ने माग राखेको छ । नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले घर जान लागेको प्रधानन्यायधीले हिसाब किताब मिलाउनका लागि छिटो-छिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका व्यक्त गरेका छन् । नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर मात्रै बस्न नसक्ने स्पष्ट पारेका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले अध्यागमनका सौर्हादपूणर्, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताएका छन् । सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाली कांग्रेसका ८ वटै जिल्लाका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न माग गरेका छन् । पर्साको वीरगन्जमा बसेको ८ वटै जिल्लाबाट केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसका पदाधिकारी, सङ्घीय प्रतिनिधि सभा सदस्य, मधेस प्रदेशका समितिका पदाधिकारी र प्रदेश सभा सदस्यहरु, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू लगायत नेता कार्यकर्ताहरूले सभापति देउवासँग यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले नेपाली कांग्रेसले मधेस प्रदेशमा सरकारको नेतृत्व नगरेर कांग्रेसलाई मधेस प्रदेशमा कमजोर बनाउने कार्य गरेकोले आरोप लगाएका छन् । मधेस प्रदेशमा नेपाली कांग्रेसलाई बलियो बनाउनको लागि सरकारको नेतृत्व आफ्नो हातमा लिनु पर्ने सुझाव समेत उनले दिएका छन् । कार्यक्रममा बोल्दै पर्साबाट प्रदेश सभा सदस्यमा प्रतिनिधित्व पर्ने श्याम पटेलले मधेस प्रदेशमा मधेसवादी दलहरुलाई मात्रै सरकारको नेतृत्व गर्न दिएको कारणले कांग्रेसका नेता कार्यकर्ताहरूमा निराशा बढेको बताएका छन् ।