काठमाडौं । अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी सोमबार दिउँसोसम्ममा २ सय ५ जनाको मृत्यु भएको बताइएको छ । बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । विपदमा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्धार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनस्र्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए । अमेरिकामा रहदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । न्युयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए । त्यसैगरी सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ । उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।