काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताएका छन् । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बाढीपीडितहरुले विपद्को बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष दाहाललाई पीडितहरूले जतिसक्दो चाँडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । पीडितहरूले अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरु घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाँडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरेका छन् । पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले उद्धार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनस्र्थापना गर्नुपर्ने उनको भनाइ थियो । जनजीवन सहज बनाएर सबै पीडितलाई दसैँ मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनस्र्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु पूणर्रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निणर्य गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निणर्य गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निणर्य गरिएको उनले बताएका छन् । विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिएका छन् ।