काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् । काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो उद्घाटन गर्दै मन्त्री भण्डारीले बजारमा मूल्यवृद्धि गर्ने चेष्टा भएपनि सरकार सक्रियतापूर्वक कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन लागिपरेको बताएका छन् । चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरू देशव्यापीरूपमा सञ्चालन गरिरहेको र प्रभावकारी देखिएको उनले बताएका छन् । उनले चाडपर्वका बेला जनतालाई राहत दिन अत्यावश्यक खाद्य वस्तु लगायत पेट्रोलियम पदार्थमा मूल्य घटाएको जिकिर गरेका छन् । चिनीको अभाव हुन नदिन सरकारले गरेको प्रयासकै कारण सुपथ मूल्यमा सहजरूपमा उपलब्ध भएको उनले दाबी गरेका छन् । मन्त्री भण्डारीले स्वदेशमा नै उत्पादीत बस्तुहरू प्रवर्धन र प्रयोग गर्न सके आयातमा कमी आउन सक्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुल्ने अवस्था नरहेको जानकारी दिएका हुन् । मन्त्रालय र सडक विभागको टोली नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । सचिव शर्माले निरीक्षणसमेत गरेर आएको जानकारी गराउदै दशैं अगाडि खुल्ने अवस्था सम्भावना नरहेको बताएका हुन् । वीपी राजमार्गको चौकीडाँडा-कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि नरहेको बताइएको छ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने बताइएको छ । सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको छ । सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनले बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागको बैठकले मनसुनी विपद्ले अवरुद्ध पठनपाठन सुचारू गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । शिक्षा विभागका प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरको अध्यक्षतामा बसेको विभागको बैठकले ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतीबाट उत्पन्न समस्या समाधान गरेर पढाइ सुचारू गर्न सरकारसँग माग गरेको हो । बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतीप्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्न सरकारसँग अनुरोध समेत गरेको विभाग प्रमुख महरले जानकारी दिएका छन् । यस्तै शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निणर्य समेत भएको उनले बताएका छन् । यस्तै बैठकले शिक्षा नीति निर्माण गर्न देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ स्थानीय तह र १ सय ६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निणर्य समेत गरेको विभाग गरेको छ ।