काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् । पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत उक्त रकम हस्तान्तरण गरेको कांग्रेसले जनाएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताएका छन् । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने विश्वास दिलाएका छन् । यसैबीच नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारेका छन् । एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निणर्य गरेको थियो । उक्त रकम हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् । नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्दै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।