काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक संघीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपीराजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागीपरेको बताएका छन् । विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागी परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको काम सन्तोषजनक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा कोइरालाले दुई ठूला दल मिलेर बनेको सरकारले सन्तोषजनक काम गर्न नसकेको बताएका हुन् । डा कोइरालाले मुलुकका दुई ठूला दल मिलेर बनेको सरकारप्रति जनताले जे अपेक्षा गरेका थिए सो अनुसार सरकारले काम गर्न नसकेको धारणा राखेका छन् । कोइरालाले सरकारले बाढी पहिरोमा उद्धार, राहतलगायतका काम पनि प्रभावकारी रुपमा गर्न नसकेको टिप्पणी गरेका छन् । उनले संविधान संशोधनको विषयमा पनि काम हुन नसकेको भन्दै चाँडो काम गर्नुपर्ने धारणा राखेका छन् । कोइरालाले तत्काल कांग्रेस एमालेको गठबन्धन नटुट्ने पनि स्पष्ट पारेका छन् ।