काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । चितवन निर्वाचन क्षेत्र नं-२ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । यसैबीच पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राजनीतिक पूवाग्रहका आधारमा रविलाई पक्राउ गरेको भन्दै रास्वपाले माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । सो क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्राउ गरेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाएका छन् । राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जबरजस्ती पक्राउ गरेको उनले बताएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् । नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भूगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका छन् । आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताएका छन् । अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताएका छन् । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताएका छन् । उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको स्मरण गरेका छन् ।