काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उपलब्धीबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट पारेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरू भएको बताएका छन् । मन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने बताउँदै यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो समय देशमा अर्थतन्त्रका सुधारका संकेतहरू देखा परेको बताएका छन् । जसले गर्दा व्यवसायीहरूमा आत्मविश्वास बढ्दै गएको उनको भनाइ छ । त्यसैगरी प्रतिपक्षी दलहरुले सरकारको कामकारवाहीबारे राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेर उनीहरुले सरकार प्रतिपक्षी दल फुटाउने उद्देश्यसहित दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको, भ्रष्टाचारीहरुलाई बचाउन लागि परेकोलगायतबारे ध्यानाकर्षण गराएका थिए । भेटमा प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । उनीहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठनबन्धन गर्दै केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेकै दिन विपक्षी दलले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा भइरहेका बेला विपक्षी दलले राष्ट्रपति पौडेललाई भेट्नु अर्थपूणर् मानिएको छ । टोलीमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी भएका थिए ।