काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए । गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् । भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवापत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठको अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो । महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ । सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको बताइएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारलले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यावसायीले उत्पादन र उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । त्यसैगरी सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संलग्न नेपाली कांग्रेसका नेता धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेललाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । सहकारी छानबिन समितिले गुरुङ र पोखरेल पनि ठगीमा संलग्न रहेको देखाएकाले तत्काल छानबिन गरी दोषी प्रमाणित भए कारबाही गर्नुपर्ने उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकको विश्वास कायम राख्न जोसुकैलाई कानूनको कठघरामा उभ्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।