काठमाडौँ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।” सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा जनाइएको छ । यसैबीच मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कात्तिक २५ देखि ३० गतेसम्म बाकुमा हुने संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन राष्ट्रपतिको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निणर्य भएको जानकारी दिएका छन् । बैठकले नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौता अनुसार एलओसी दुई र एलओसी ४ को लाइन अफ क्रेडिट संशोधन गरी क्रमशः ३५० मिलियन डलर र ५० मिलियन डलर कायम गर्न अर्थमन्त्रालयलाई स्वीकृति दिने निणर्य गरेको छ भने नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निणर्य भएको सरकारका प्रवक्ता गुरुङले बताएका छन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१ स्वीकृत गर्ने र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश स्वीकृत गर्ने निणर्यसमेत गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आयोजना आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उनले स्पष्ट गरेका छन् । कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्षले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएका छन् । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताएका छन् ।