काठमाडौं । नेकपा एमालेले मंसिर १६ गतेका लागि तय भएको उप-निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताएको छ । निर्वाचनको तयारी र उम्मेदवारीको विषयमा हालै बसेको बैठकले यस्तो धारणा बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ । पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो । उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि छलफल भएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली डीसेम्बर पहिलो साता चीनको भ्रमण गर्ने बताएका छन् । प्रधानमन्त्रीको भ्रमण अधिकतम राष्ट्रिय हितमा हुने विश्वास लिएको उनले बताएका छन् । त्यस्तै सरकारको चार महिने कार्यकालबारे पनि छलफल भएको उनले बताएका छन् । सरकारको काम कारबाहीलाई अगाडि बढाउन दुई दलको विभिन्न संयन्त्र बनेको र उक्त संयन्त्रमार्फत काम कारबाहीहरू राम्रो हुँदै जाने उनको भनाइ छ । यसैबीच उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न वल्र्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धिमूलक भएको बताएका हुन् । नेपालमा शहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका एजेन्सी सन्तोषजनक रहेकाले आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रूपमा अघि बढ्ने बताएका छन् । उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गरेका छन् । तथ्य र तथ्यांकमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको सिंहको भनाइ थियो । फोरममा नेपालले आफ्ना विषयहरू विश्व मञ्चमा जोडदार रुपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताएका छन् । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका शहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागी भएको पनि उनले जानकारी दिएका छन् । १ सय ८२ देशको सहभागिता रहेको फोरममा अहिले शहरी विकासको क्षेत्रमा संसारभरको ट्रेण्ड के छ ? आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेबारे महत्वपुणर् छलफल भएको उनले बताएका छन् ।