– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
उनका जेठा दाजु कोमल नारायण २७ वर्षका, दिदी चेत कुमारी २३ वर्षकी, धर्म कुमारी १९ वर्षकी, चिनी माया १५ वर्षकी, किशुन बाबु १२ वर्षका, राम बाबु ७ वर्षका र भाई भरत बाबु केवल २ वर्षका थिए ।
लक्ष्मण बाबुका बाबुको स्वभाव विपरीत उनकी मामा भने एउटी जब्बर महिला थिइन् । उनी जस्तोसुकै परिस्थितिको पनि डटेर सामना गर्थिन् । उनी आफूले विश्वास गरेको कुरामा डगमगाउँथिनन् र निडर भएर सबैको सामु बोल्थिन् । उनले औपचारिक शिक्षा त पाएकी थिइनन्, तर उनलाई व्यवहारिक कुराहरुको ज्ञान थियो र समस्या परेका बेला जुध्ने आँट पनि । त्यसैले टोलका महिलाहरु समस्या पर्दा उनको सल्लाह लिन पनि आउँथे । उनले भेट्न चाहने सबैलाई भेट्थिन् र धार्मिक कृत्यहरु कसरी र कहिले गर्ने भनेर सल्लाह सुझाव पनि दिन्थिन् ।
गुनु श्रेष्ठ एक जना पाकी महिला, जसले लक्ष्मण बाबुकी आमासँग समय बिताएकी थिइन्, भन्छिन्, त्यति बेला अत्यन्त रमाइलो थियो, महिलाहरुमा एक आपसमा सहयोग हुन्थ्यो र मैत्रीभाव थियो, जनसंख्या कमै थियो, तर एक आपसमा घनिष्ठता थियो । हजुरआमा (अजि) केन्द्रविन्दु हुनुहुन्थ्यो र सबैको विश्वासनीयता उहाँले आर्जन गर्नु भएको थियो । उहाँको स्वर र स्वभाव यति कडा थियो कि उहाँसँग बालबालिका मात्रै हैन युवाहरु समेत गलत काम गर्न डराउँथे ।
आमा देव कुमारीसँग अनावश्यक कुरा गर्न अरुहरु हिच्किचाउँथे । अरुहरु भन्थे, देवु आमा त निकै कडा हुनुहुन्छ ।
के गर्न हुन्छ र के गर्न हुँदैन भनेर उहाँको स्पष्ट मापदण्ड हुन्थ्यो । उहाँले आफ्नो परिवार मात्रै हैन, समुदायका अरुहरुबाट पनि परिपक्वता एवं सुकर्मको अपेक्षा राख्नु हुन्थ्यो । उहाँ कुनै पनि निणर्य गर्न ढिलाई गर्नुहुन्थेन । उहाँलाई कसैले पनि समय खेर फालेको मन पर्थेन । उहाँले मानिसहरु चौतारो, चिया पसल वा घरको पिँढीमा बसेर फाल्तु गफ गरेको देख्नुभयो भने काम गर्नु भनेर भन्नुहुन्थ्यो । क्रमशः