काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीद्वारा भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशङ्का गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् । नेपालकै मध्य भागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतम बुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताएका छन् । मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टर भएको बताएका छन् । उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निणर्य भएको जानकारी गराएका छन् । मन्त्री पाण्डेले अब काठमाडौँ फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष समेत गरेका छन् । उनले गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू बेला बेलामा पर्यटनको इपिसेन्टर लुम्बिनी आउने बताएका छन् । यसैबीच उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले किसानलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको विमोचन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । नेपालका लागि कृषिको महत्व धेरै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले कृषि विकास बैंकलाई सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न पनि आग्रह गरेका छन् । आर्थिक रूपमा अहिले देखिएको असहज अवस्था फुकाउन कस्तोे नीति लिएर अघि बढ्नुपर्छ सोहीअनुसारको नीति बनाएर काम गर्न पनि बैंक व्यवस्थापनलाई उनले सुझाव दिएका छन् ।