काठमाडौं । सुनसरी, इटहरी उपमहानगरपालिका-६ स्थित गजुरमुखी होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय नवीन पुरी समेत ६ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ थान सहित पक्राउ गरेको हो । यसैबीच बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ ठेगाना भई नागार्जुन नगरपालिका-६ रामकोट बस्ने ५५ वर्षीय सुरेन्द्र संगतलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत चितवन भरतपुरबाट २०८१ कात्तिक ९ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।