-परमानन्द झा-
मेरा चचेरा मामाको विवाह पनि त्यही बेतियामा भएको थियो । चचेरा भन्नाले मावली गाउँको मामा । ती मामासँग मेरो र हाम्रो परिवारको राम्रो चिनजान थियो । बेतिया उहाँको ससुराली भएकाले त्यहाँका सबैलाई चिन्नुहुन्थ्यो ।
मेरा ससुराका ६ जना छोरीहरु छन् । सबैभन्दा जेठीको विवाह तिनै चचेरा मामासँग भएको रहेछ । उहाँले नै हामीलाई नवीनाका बारेमा जानकारी दिनुभयो । उहाँले नै ससुरालीमा मेरो बारेमा पनि बयान गरिदिनुभयो । कुरो यसरी अघि बढेको थियो ।
मेरा बुढो ससुरा विहारमा बेतिया स्टेटमा म्यानेजर हुनुहुन्थ्यो । सोही सिलसिलामा उहाँ उतैतिर बसोबास गर्नुभएको रहेछ । छ जना दिदी बहिनीमा मेरी श्रीमती कान्छी हुन् । मैले विवाहअघि उनलाई देखेको थिइन् । पहिला केटी र केटाबीच हेराहेर गर्ने चलन नै थिएन । सूचनाको आधारमै विवाह गर्नुपर्ने हुन्थ्यो । अभिभावकले ठिक मानेमा उहाँहरुको रोजाइअनुसार नै विवाह गर्नुपथ्र्यो । त्यो कुरामा आवाज उठाउने हिम्मत हाम्रो हुँदैनथ्यो ।
समाज कस्तो थियो भने केटा र केटीबीच प्रेमको चक्करसमेत हुँदैनथ्यो । प्रेम निकै दुर्लभ परिघटना मानिन्थ्यो । विवाह त अभिभावकको रुचिअनुसार हुने युगमा प्रेम त सम्भव नै थिएन । स्कुलमा पनि कक्षामा छ/सात जना मात्र केटीहरु हुन्थे । स्थानीय केटीहरु मात्र स्कुलमा जान्थे । उनीहरु होस्टेलमा बस्दैनथे । स्कुल/कलेज जान्थे, पढ्थे र फर्कन्थे । यही कारण केटीहरुसँग हामीले बोल्ने मौका कमै पाउँथ्यौ । मेरो कसैसँग कुनै लभसभको चक्कर चलेन । फेरि त्यो बेलामा प्रेमिका बनाउने भनेको बदमासले मात्र हो भन्ने ठानिन्थ्यो । त्यतिबेला प्रेमी/प्रेमिका बन्नु भनेको गलत प्रबृत्ति भनेर बुझिन्थ्यो । धनीमानीले दुईटी श्रीमती पन िराख्थे तर त्यो पनि मधेसी समाजमा वर्जित सरह नै थियो । त्यस्तो केही गरेको पाए समाजले नै फटाहा वा अराजक मानिसको दर्जा दिन्थ्यो ।
सादा जीवन र अध्ययनशीलता नै मेरो जीवनशैली थियो । अझ समाजमा त्यतिबेला इज्जत भनेको सबैभन्दा ठूलो कुरा थियो । कसैले कुनै युवती वा परस्त्रीसँग सम्बन्ध राखेको थाहा पाए त्यसलाई समाजबाटै निकालिन्थ्यो । क्रमशः