काठमाडौं । पर्वत जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । उक्त जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र पनि प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा सञ्चालनमा छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यानगृह रहेका छन् । पर्वत जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलव ५ मेट्रिक टन रहेको छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोर सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । “हामी जसरी ‘कोल्ड रुम’ बनाउन बजेटको लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन् ।” कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख परशुराम अधिकारीले भने,- “राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ।” अधिकारीले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषिउपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयको लागि स्टोर गर्न समस्या देखिएको बताएका छन । उनले राज्यस्तरबाटै निर्माणसँगै स-साना प्राविधिक ज्ञानका पक्षलाई पनि माथि उठाउनुपर्ने बताएका छन् । त्यसैगरी पाँच वर्ष अघि कुश्मा नगरपालिका-९ कटुवाचौपारीको बाह्रबिसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत पाँच वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु र सुन्तला भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिएका छन् । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको बताएका छन् ।