काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले उपनिर्वाचनलाई सुरक्षित, भयमुक्त र शान्तिपूणर् बनाउन नेपाली सेना परिचालन गर्ने निणर्यलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको निणर्य र प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो । त्यसैगरी नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को दफा २१ को उपदफा (४) को प्रयोग गर्दै उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा श्रेष्ठलाई केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यका रूपमा कोषाध्यक्षको जिम्मेवारी दिएको उल्लेख छ । यसैबीच कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ । भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लोपटक गत २५ कात्तिकमा थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न भन्दै उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।