काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १७ मंसिरदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा कुनै पनि ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न सुझाव लिन सिंहदरबारमा बोलाइएका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको तथा चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएकोसमेत बताएका छन् । चीन भ्रमणमा विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै विद्युत् प्रसारणलाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउन पूर्वतयारी गर्न ध्यानाकर्षणपत्र बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेस र देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न आग्रह गरेको हो । ध्यानार्कषणपत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरु डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरुलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरु लाग्नुपर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत् सम्बन्धित निकायका सम्बोधनका लागि तत्काल पठाइने बताउँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताएका छन् । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूणर् भएको बताएका छन् । परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको जिकीर गरेका छन् । सर्वोच्च अदालतको फैसलाले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरू भएको पोखरेलले बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उनले बताएका छन् । कार्यक्रमका बोल्दै पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताउँदै त्यसलाई सुधार्न दुई ठूला दल सरकारमा गएको बताएका छन् । त्यसको लागि सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनले स्पष्ट पारेका छन् । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उनले जोड दिएका छन् ।