काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताएका छन् । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिएका छन् । उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरेका छन् । उनले जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताएका छन् । त्यस्तै छैटौँ एशियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताएका छन् । उनले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने जिकीर गरेका छन् । उनले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गरेका छन् । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताएका छन् । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आसन्न उपनिर्वाचन सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूणर् अवसर भएको बताएका छन् । मतदान हुन ४ दिनमात्र बाँकी रहँदा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले सुशासनका पक्षमा मत जाहेर गर्न मतदातालाई आग्रह गरेका छन् । उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट पारेका छन् ।