काठमाडौं । नेपालले रियल टाइम अर्थात् आधा घण्टाअघि मात्र बिडिङ गर्ने गरी भारतलाई बिजुली बेच्न केही समय लाग्ने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले रियल टाइममा विद्युत् व्यापारका लागि अनुमतिपत्र पठाई नसकेकोले समय लाग्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । भारतीय प्राधिकरणले गत साता नै सीमापार विद्युत् आयात, निर्यात कार्यविधिमा संशोधन गरेको हो । तर, रियल टाइममा बिडिङ गर्ने आशयको पत्र नआएसम्म पुरानै प्रक्रियाबाट विद्युत् निर्यात गरिने भट्टराईले जानकारी दिए । अहिले नेपालले डे अहेड अर्थात् एक दिनअघि (२४ घण्टा पूर्व) नै बिडिङ गरी बिजुली भारत निर्यात गर्दै आइरहेको छ । भोलिको बजारमा बिजुली बेच्नका लागि आज राति १२ बजेअघि नै बिडिङ गर्नुपथ्र्यो । रियल टाइममा भने बिजुली बेच्नुपूर्व आधा घण्टा अघिमात्रै बिडिङ गरे हुन्छ । यसले विद्युत् निर्यात गर्न सकिने वास्तविक अवस्था कस्तो छ, कति मागको छ भन्ने विषयमा वास्तविक जानकारी दिने विज्ञ बताउँछन् । सन् २०२१ मा ल्याएको कार्यविधिको खण्ड ६ को ४ नम्बर बुँदालाई संशोधन गरिएको हो । भारतसँग ऊर्जा व्यापार सम्झौता भएका छिमेकी मुलुकले स्वीकृति बमोजिमको विद्युत् रियल टाइम निर्यात गर्न पाइने भनी संशोधनमा उल्लेख गरिएको छ । अब नेपालले डे अहेडसँगै रियल टाइममा पनि बिडिङ गर्न पाउनेछ । भारतले २०७८ कात्तिकबाट नेपालबाट विद्युत् किन्न स्वीकृति दिएको थियो । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री सुरु भएको थियो । त्यसपछि २०७९ साल जेठ २७ बाट दैनिक रूपमा ६ जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । सोही वर्षको १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ । गत पुसमा थप दुई जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि अनुमति पाएसँगै कुल ४५२ मेगावाट विद्युत् निर्यातको बाटो खुलेको हो । भारतीय एक्सचेन्ज मार्केट आईएक्समा २४ घण्टालाई १५—१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । रियल टाइममा बिजुली बेच्न प्राधिकरण भारतको चिठीको पर्खाइमा अहिले नेपालले डे अहेड नै बिडिङ गरी बिजुली भारत निर्यात गरिंदै भारतले सन् २०२२ मे मा ४५२ मेगावाट किन्ने स्वीकृति दिए यता नयाँ आयोजनालाई स्वीकृति दिएको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एक महिनापछि भारत सरकारले थप आयोजना गरी १० आयोजनाको ४५२ मेगावाट निर्यातको स्वीकृति दिएको थियो ।