काठमाडौं । अनुदानको मल बढी मूल्यमा बिक्री गर्ने व्यवसायी र सहकारीलाई पोखरामा कारबाही गरिएको छ । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री वितरण गरेका पोखराको अमरसिंह चोकको सुलभ कृषि सामग्री पसल र शिवालय चोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार रुपैयाँ जरिबाना गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् । सुलभ कृषि सामग्री पसलमा रहेको मल जफत गरिएको छ । अनुदानको मल बिक्री गर्ने अनुमतिसमेत नभएको सुलभ कृषि सामग्री पसलमा रहेको युरिया २५, डीएपी ६ र पोटास ५ बोरा जफत गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । जफत गरिएको मल साल्ट ट्रेनिङ कर्पोरेसनमा फिर्ता गरिएको छ । यस पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २० हजार जरिबाना गरिएको महाशाखाले जनाएको छ । अनुगमनका क्रममा अनुदानको मल तोकेको मूल्यभन्दा १५ रुपैयाँ बढीमा बिक्री गरेको पाइएपछि त्यस्ता पसललाई कारबाही गरिएको हो । अनुदानको मल तोकेको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको, आफ्नो कार्य क्षेत्रभन्दा बाहिर बिक्री गरेको आधारमा उपभोक्ता सहकारी संघलाई कारबाही गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।