काठमाडौं । लम्पी स्किन रोगबाट आधा अर्ब रूपैयाँभन्दा बढी क्षति भए पनि किसानले कुनै राहत पाएका छैनन् । लम्पी स्किन महामारीले ७७ वटै जिल्लाका पशु चौपायाको मृत्यु एवम् संक्रमण भई क्षति व्यहोर्नु पनि सरकार मुकदर्शक बनेर बसेको किसानको गुनासो छ । अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए । किसानलाई तत्काल राहतको प्याकेज ल्याउनु पर्ने अधिकारीले बताए । अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान छ । लम्पी स्किनको कारण दूध उत्पादन तथा मासु उत्पादनमा गिरावट, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुँदा किसानलाई क्षति पुगेको छ । मृत्यु भएका किसानको पनि बिमा नभएकाले किसान मर्कामा परेका हुन् । ग्रामीण क्षेत्रका किसानले पशुको बिमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नुपरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए । किसानलाई अहिलेसम्म राहत दिन नसके पनि कसरी दिन सकिन्छ भनेर गृहकार्य भइरहेको उनले बताए । एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार एक सय ३५ रूपैयाँ नोक्सान हुने नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ । यसरी हेर्दा साढे १३ लाख पशु संक्रमित भएकाले ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ । परिषद्ले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पशुमा लम्पी स्किनबाट संक्रमित भएपछि हुने क्षतिको बारेमा अध्ययन गरेको थियो । ग्रामीण क्षेत्रका किसानले पशुको बिमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नु परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए । १३ लाख पशु संक्रमित हुँदा पनि प्रभावकारी रूपमा रोग नियन्त्रणको पहल नभएको भन्दै आलोचना भएको थियो । महामारी नियन्त्रणका लागि ४७ करोड रूपैयाँ रकम विनियोजन गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले बताए । लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएकोमा मनाङ र मुस्ताङमा भने नियन्त्रणमा आएको छ । लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट यो रोग एकअर्को पशुमा सर्छ । संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने पशु चिकित्सक बताउँछन् । ज्वरो आए औषधि खुवाउन, गिर्खा फुटेको घाउमा मलम लगाउन र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउन पशुचिकित्सकले सुझाव दिएका छन् । लम्पी स्किन गाई/भैंसीमा भाइरसको कारण लाग्ने महामारी हो । पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो । यो सरुवा रोग हो । यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठाहरू देखिने, र्याल, सिँगान बग्ने, कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन् । यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाइभैंसीमा असर गर्छ । मन्त्रालयका अनुसार लम्पी स्किनबाट संक्रमित भएका १२ लाख ८८ हजार सात सय ५९ वटा निको भएका छन् ।