काठमाडौं । चितवनमा सयपत्री फूल खेतीतर्फ किसान आर्कषित भएका छन् । तिहारलाई लक्षित गरी फूलखेती गर्ने क्रम बढ्दो छ । जिल्लामा अधिकांशले समुहमा सयपत्री फूल लगाएका छन् । भरतपुर महानगरपालिका-२३ जगतपुरमा महिलाहरु मिलेर मनकामना सयपत्री समूह गठन गरी खेती सुरु गरेका छन् । १० कट्टठामा फूलखेती गरेका छन् । समूहकी रेनुका पौडेलले फूल खेतीले उत्साह थपेको बताउँछिन् । उनीहरुलाई बजारको त्यति समस्या छैन । स्थानीय स्तरमा बिक्रि हुने गरेको उनले बताइन् । भारतबाट फूल आयात नगर्ने हो भने अहिले हामीलाई बजारको समस्या हुँदैन, उनले भनिन् । खर्च कटाएर सवा दुई लाख रुपैयाँ आम्दानी हुँदै आएको समुहकी कोषाध्यक्ष भिमकुमारी फुयालले जानकारी दिइन् । उनीहरुले भाडामा लिएर फूल खेती सुरु गरेका हुन् । चुलोचौकामा व्यस्त हुने महिला दिदीबहिनीहरुलाई घर खर्च चलाउन समेत सहज भएको उनले बताइन् । उनीहरुले एउटा मालालाई ५० रुपैयाँमा बेच्दै आएका छन् । यस वर्ष आठ क्वीन्टल फूल उत्पादन हुने उनीहरुले अनुमान गरेका छन् । भरतपुर महानगरपालिका -२३ जगतपुरकै महिला उत्थान कृषक समूहले पनि चाडपर्वलाई लक्षित गरी आठ कठ्ठा क्षेत्रफलमा व्यवसायीक फूलखेती सुरु गरेका छन् । भरतपुर-७ उज्जवल टोलमा एक दर्जन बढीले एक्लाएक्लै खेती थालेका छन् । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२ विगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरेको जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी दिएका छन् । चितवनमा यसबर्ष अत्याधिक रुपमा सयपत्री फूल खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा खेती भएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार ३५ विगाहा क्षेत्रफलमा व्यवसायीक रुपमा खेती गरिएको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले तिहारमा सयपत्री फूलका माला आयात नगरे स्वदेशी उत्पादनले नपुग्ने जनाएको छ । तिहारमा पाँच लाखको हाराहारीमा सयपत्री फूलको माला बाहिरी मुलुकबाट आयात गर्नुपर्ने एशाशियसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । उनका अनुसार नेपालमा पैतीस लाख माला आवश्यक पर्छ । तर, नेपालमा तीस लाख मात्रै माला उत्पादन हुने उनले बताए । सयपत्री फूलको आयात पूणर् रुपमा बन्द भए बजारमा कालोबजारी सुरु हुने उनले बताए । भारतबाट सयपत्री फूल नआए उपभोक्ता ठगिने फ्लोरिकल्चर एशोसियसन चितवनका अध्यक्ष दिपेन्द्र सापकोटा बताउँछन् ।