काठमाडौं । दुग्ध किसानहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका करिब तीन हजार किसानहरूले हेटौंडा उपमहानगपालिकामा बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ गरेका थिए । आन्दोलित दुग्ध किसानहरूले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अघि दुग्ध बिक्रीको ग्यारेन्टी गर, दुग्धजन्य पदार्थ निर्यातको प्रबन्ध गर, किसानको पैसा फिर्ता गर भन्दै नाराबाजी र घेराउ गरेका छन् । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलित हुनुपरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य विदुर हुमागाईंले बताएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको किसानहरू बिरोध प्रदर्शनमा उत्रिएका हुन् । मकवानपुरमा विगत ६ महिनादेखि किसानले दूध बेचेको ५७ करोड रुपैयाँ पाउनुपर्ने भए पनि उक्त रकम नआएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले बताएका छन् ।