काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दुःख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ । त्यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका–९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो ।