काठमाडौं । केहीवर्ष अघिसम्म अन्नपूणर् आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे । पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे । पोखराबाट पदयात्रा सुरु हुन्थ्यो । त्यस्तै पदयात्रा सकेर फर्किनेहरु पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे । तर, अहिले पदयात्रीको पदयात्रा शैली फेरिएको छ । पदयात्रामा जाने पाहुनाहरु बिहानैको उडानमा पोखरा ओर्लिन्छन्, त्यसपछि विमानस्थलमै लिन आइपुगेको गाडी चढेर पदयात्राको प्रस्थान बिन्दुसम्म पुग्न थालेका छन् । गाडीमा आउनेहरु पनि पोखरामा बासै नबसी सिधै पदयात्रा सुरु हुने ठाउँसम्म पुग्ने गरेका छन् । पदयात्रा सकेर फर्किनेहरु पनि जसोतसो बेलुकीसम्म पोखरा झरिसक्ने र जहाज चढेर काठमाडौं पुग्न थालेका छन् । कम समय लिएर पदयात्रामा निस्कने पर्यटकहरुले अहिले पोखरालाई ‘ट्रान्जिट’ मात्र बनाउन थालेका छन् । अन्नपूणर् आधारशिविर (एबिसी) को प्रवेशद्वार मानिने घान्द्रुकसम्मै अहिले गाडी पुग्छ । यस्तै आधारशिविर मार्गकै झिनुसम्म पनि गाडी पुग्ने गरेका छन । केहीवर्ष अघिसम्म घान्द्रुक र झिनुसम्म जानका लागि नयाँपुलदेखि नै पैदल हिड्नुपर्दथ्यो । त्यो करिब एकदिनको पैदलयात्रा थियो । तर मोटरबाटोले गर्दा पैदलयात्रा अवधि छोटिएको छ । त्यस्तै आधारशिविरको पदयात्रा सकेर फर्किनेहरु पनि घान्द्रुक वा झिनुबाटै गाडी चढ्न पाउँछन । पदयात्रा सकेर गाडी चढेर बेलुकीसम्म पोखरा फर्किनेहरु त्यही बेलुकी हवाईजहाज चढेर काठमाडौंसम्म पुग्न थालेका छन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उडान संचालन हुँदा अहिले यात्रा सहज भएको छ । बिहानै पोखरा ओर्लिन मिल्ने र बेलुकी अबेरसम्म काठमाडौं पुग्न सकिने भएपछि व्यावसायीले पनि त्यही अनुसारको प्याकेज बनाएर पदयात्रा गराउन थालेका छन् । होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पाहुना अड्याउनेगरि पोखरामा नियमित गतिविधि नहुँदा कतिपय आन्तरिक र धेरै विदेशी पर्यटकले पोखरालाई ट्रान्जिट बनाउन थालेको बताउँछन । ‘पोखरामा रात्रीकालिन मनोरञ्जनका पर्यटकीय गतिविधि धेरै छैनन । त्यसैले पोखरा ट्रान्जिट मात्र बन्न थालेको छ,’ पराजुलीले भने, ‘पुरानो विमानस्थल बिहान अबेर खुल्ने र बेलुकी छिटो बन्द हुने हुँदा पोखरामा एकरातको बसाई अनिवार्य जस्तै थियो । तर, अहिले अन्तर्राष्ट्रिय बिमानस्थल बिहान सबेरै र राती अबेरसम्म संचालन हुन्छ । त्यसले गर्दा आउजाउ सहज भएको छ ।’ ‘पाहु्नालाई पोखरामै रोक्ने गतिविधि छैनन । पोखरामा नियमित गतिविधि हुने हो भने पाहुना अडिन्छन । नत्र रात बिताउन मात्र पोखरा बसाई बाध्यकारी बनेन,’ उनले भने, ‘पोखराको बसाई अवधि बढाउने हो भने केही प्रावधान पनि फेरबदल गर्नुपर्छ । अन्नपूणर् क्षेत्र प्रवेशको अनुमतिपत्र पोखराबाट मात्र जारी गर्न पाउने हो भने यो पाहुनाको पोखरा बसाई हुन्छ ।’ पोखरामा बेलुकीको समयमा पाहुना आकर्षण गर्ने खालको गतिविधि गराउने हो भने पोखरा ट्रान्जिट मात्र बन्ने चलन कम हुने उनले बताए । ‘रात्रीकालिन लाईफस्टाइलमा रमाउन पनि पाहुना पोखरा बस्थे । तर, ती गतिविधि भएनन,’ उनले भने । पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी पनि पछिल्लो पटक पोखरालाई आन्तरिक र बाह्य दुवैखाले पर्यटकले ‘ट्रान्जिट’ मात्र बनाउन थालेको बताउँछन ।