काठमाडौं । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन् । करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन् । वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताएका छन् । सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताएका छन् । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकोमा जेठसम्म खरबुजा फल्ने उनले बताएका छन् । रु छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताएका छन् । आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताएका छन् । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताएका छन् । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्न नपरेको उनले बताएका छन् । रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन् । कावासोती नगरपालिका-१७ का वडासदस्यसमेत रहनुभएका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका छन् ।