काठमाडौं । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो । नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताएका छन् । उनले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका छन् । चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताएका छन् । महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको नगर प्रमुख थापाले बताएका छन् । उनका अनुसार महोत्सव इलाम बजारमा आयोजना गरिने भएको छ । महोत्सव आयोजनाका लागि नगर प्रमुख थापाको संयोजकत्वमा समिति गठन भएको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा चियासँग सम्बन्धित विभिन्न सङ्घसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन् । महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलले बताएका छन् । महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइने छ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ । इलाममा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचार-प्रसार गर्न महोत्सव आयोजना गरिएकोमा किसानहरु उत्साहित भएका छन् ।