काठमाडौं । पहाडै पहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौं गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्याउनसमेत सहज हुने भएको छ । गाउँपालिकाले सात करोडको लगानीमा सो चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताएका छन् । हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ । चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन् । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूणर् भए पनि आफूहरूले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताएका छन् । स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताएका छन् । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताएका छन् ।