काठमाडौं । सुनसरीमा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरी बतास र कीराले क्षति पुर्याएको कारण गत वर्षको तुलनामा यस वर्ष आँपको उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘कीराको जोखिम र हुरी बतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो ।’ आँपको उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । गतवर्ष सुनसरीमा आँप खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुँदै आएको आँप यस वर्ष प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ । गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताएका छन् । केन्द्रका अनुसार सुनसरी जिल्लामा यस वर्ष १ हजार १ सय २४ हेक्टर क्षेत्रफलमा ७ हजार १ सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष १ हजार १ सय २४ हेक्टरमा ७ हजार ५ सय ६५ मेट्रिक टन उत्पादन भएको थियो । सुनसरी जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहा लगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोग लगायत आँप बिक्री हुने गरेको छ । सुनसरी जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताएका छन् ।