काठमाडौं । सुन्दरहरैचा नगरपालिका–१ हरैचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ गएराति चोरी भएको छ । उक्त संस्थाको भवनको सिसाको झ्याल र ग्रिल फोडीभित्र प्रवेश गरेर सेफमा उक्त नगद चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच झापा, बुद्धशान्ति गाउँपालिका–४ जुनेली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम र स्पास्पेन ट्याब्लेट ५५ पत्ता, ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्ता सहित सोही ठाउँ बस्ने २० वर्षीय सुरज मगर जर्गा समेत २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित अर्जुनधारा नगरपालिका–३ बस्ने २४ वर्षीय ऐतराज इवा समेत २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रित ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।