काठमाडौं । बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूणर्प्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । आलु आयातबाट आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड राजश्व वृद्धि भएको छ । पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताएका छन् । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन नसकेको बताइएको छ ।