काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हो । ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूणर् शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ । यसैबीच ज्योति विकास बैंक लिमिटेडले काठमाडौँ स्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको बताइएको छ । यस सम्झौता पश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसिएलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ट्रान्स क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, बैंकले टिस्टुङ रिसोर्टमा १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।