काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले ‘हिंसा’ शब्द सच्याउनुपर्ने बताएका छन् । एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको उनको भनाइ छ । विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका छन् । उनले त्यो कुरा नसच्याए संसदमा माओवादीको विरोध जारी रहने स्पष्ट पारेका छन् । संविधानको सशस्त्र संघर्ष सम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको दाहालले बताएका छन् । त्यसैगरी गृहमन्त्री रमेश लेखकले नागरिकता सम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नागरिकता सम्बन्धी पीडितहरूको गुनासो सुनुवाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । गृहमन्त्री लेखकले नागरिकता सम्बन्धीका धेरै समस्या निर्देशिकाको कारणले उब्जिएकाले परिमार्जन गरिने बताएका छन् । निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेका धारणा उनले राखेका छन् । प्रचलित संवैधानिक र कानुनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने उनले बताएका छन् । यसैबीच सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । समितिले यस अघि गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकणर्मणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ । समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ ।