काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उहाँले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताउनु भएको छ । गृहमन्त्री लेखकले सरकारले चार वटा कुरामा जोड दिएर जाने बताउनुभयो । ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरुको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरुको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उहाँले भन्नुभयो । बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताएका छन् । यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएका छन् । देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ-आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । त्यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के-कति क्षति पुर्याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन् । बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कलन गरी आगामी रणनीति बनाउने निणर्य भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।