काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् । सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन । उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्ने कुराहरू प्रत्यक्ष र अपरोक्ष रूपबाट आइरहेको बताएका छन् । उनले अहिले सङ्घीयता नै बेठिक भयो भन्ने गरी आक्रमण भइरहेको भन्दै सङ्घीयता कानुनअनुसार चल्ने हो भने राम्रो रहेको बताएका छन् । सभामुख घिमिरेले मनोगत भन्दा तथ्यगत आधारहरू हेरेर सङ्घीयताको मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् । उनले आगामी दिनमा सङ्घीयता अझ प्रभावकारी बनाउन, सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र सङ्घीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको जानकारी गराएका छन् । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरोजस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री पौडेलले बाढी पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह पनि गरेका छन् । विपद्का समयमा स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदानको उनले प्रसंसा गरेका छन् । मन्त्री पौडेलले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री पौडेलले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताएका छन् । बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताएका छन् । बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग माग गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् । उक्त समितिको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ छन् । सभापति देउवाले कैलाश राई (खोटाङ), लालबाबु यादव (धनुषा), मिरा स्याङ्ताङ (मकवानपुर), हरिप्रसाद शर्मा लामिछाने (कास्की), हिरा केसी (रूपन्देही), खड्कबहादुर डाँगी (रूकुम पश्चिम), रमेशबहादुर रावल (डडेल्धुरा), रामबहादुर लामा (चितवन), रन्जित रसाइली (भोजपुर) र ओमप्रकाश लिम्बू (ताप्लेजुङ) लाई सदस्यमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।