काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् । फास्ट फुड एसोसिएसन नेपालले आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताएका छन् । उनले दसैंतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । यसैबीच नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । काठमाडौंमा नेपाल-भेनेभुएला मैत्री संघको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् । उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । देशको स्वाधीनताका पक्षमा सधैं अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ रहेको छ । उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चुनौतीहरू धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्वन गर्ने, पञ्चशीलको मान्यता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका छन् ।