काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन् । नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको काँग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन् । प्रवक्ता डा महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए । उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि कांग्रेसले काम गर्ने बताए । मजदुरको पक्षमा कांग्रेस सधैँ अगाडि बढ्ने उनको भनाइ थियो । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग कांग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गरे । नेपाल यातायात मजदुर सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ । पोखराको लेखनाथ नपामा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । उहाँले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित गर्नुभयो । “दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं ।” , “समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको छ, आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्छौं” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ । वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छ” प्रचण्डले भन्नुभयो, “नयाँ सरकारले जनताको पक्षमा महत्वपूर्ण कामहरू गरेको छ । अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ । हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।” त्यसैगरी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न आग्रह गरेका छन् । मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न आग्रह गरेका हुन् । निर्माण उद्योगको सकारात्मक सहयोगविना काम गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए । मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने उल्लेख गर्दै उनले राज्य एवं निर्माण व्यवसायी मिलेर काम गर्नुपर्नेमा जोड दिए । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले आयोजना सम्झौताका बेला दस्तावेजमा हस्ताक्षर गर्ने तर काम नगर्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्यका लागि यस किसिमको छलफल आयोजना गरिएको बताए ।