काठमाडौं । दीपक-दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरेका थिए । तर, यसले उनको साख जोगाउन सकेन । फिल्म ‘डिजास्टर’ हुँदा उनको करिअर नै संकटमा पर्यो । लामो अन्योलतापछि ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी अभिनेत्री नीति शाहलाई पनि पहिलो गाँसमै ढुंगा लागेको थियो । तर, उनीहरु दुवैलाई ‘ज्वाइँ साब’ले भने ठूलो राहत दिएको छ । असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्मले ‘ओपनिङ’ राम्रो गर्न सकेन । तर, ‘वर्ड अफ माउथ’को बलले विस्तारै फिल्मले गति लियो । दशैंको टीकापछि व्यापारमा वृद्धि देखियो । अझै पनि ठूला सहरहरुमा अकुपेन्सी सन्तोषजनक छ । तर, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को चेपुवामा पर्दा फिल्मको सोज बढ्न सकेको छैन । जसले गर्दा व्यापारको आकार सानो छ । यद्यपि, फिल्मले लगानी उठाउन सक्ने सम्भावना देखिएको छ । ‘ज्वाइँ साब’को व्यापार जितुको ‘ह्यारी की प्यारी’ र नीतिको ‘खजुरे ब्रो’भन्दा उल्लेख्य छ ।