काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधिन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् । समितिका सभापति र दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरेले संसदीय समितिहरूमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका हुन् । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर सभामुखले चासो देखाएको जानकारी दिएका छन् । त्यस्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० वटा विधेयकमा १७ वटा पारित भएको र बाँकी विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन् । सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएको उनले जानकारी गराएका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ । युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० ) को उपदफा (४) बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी पेस गरेका हुन् । जाहेरीमा उनले संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकीर गरेका छन् । उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनु पर्नेमा जोड दिएका छन् । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरेका छन् । ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताएका छन् ।