काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने प्रष्ट पारेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारेका हुन् । उनले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गराएका छन् । यसैबीच उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रही विभिन्न पेसा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा उर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च संभावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । साथै, उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्वयनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दुतको रुपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिएका छन् । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्वद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन् । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भइसकेको घोषणा गरेका छन् । सिंहदरबारमा आयोजित मन्त्रालयले सय दिनमा गरेको कामको समीक्षा कार्यक्रममा मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयक मन्त्रीपरिषदमा पेश गरिसकिएको जानकारी दिएका छन् । साथै, उनले हिंसा पीडित महिलाहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनःस्थापना गृह निर्माणको काम छिट्टै सुरु हुने बताउँदै करिब ३० करोड लागतमा निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।